
बिर्तामोड, २० जेठ । आईपीओ निष्कासनको तयारीमा रहेको इष्टर्न सहारा कम्पनी लिमिटेडको विशेष साधारणसभा बुधबार बिर्तामोडमा सम्पन्न भएको छ।
‘दिगो समृद्धिका लागि हरित लगानी’ भन्ने मूल नारासहित स्थापना भएको कम्पनीको विशेष साधारणसभा अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाबाट कम्पनीको कुल पुँजी दुई अर्ब २० करोड रुपैयाँ पुर्याउने निर्णय गरिएको छ। उक्त पुँजीमध्ये एक अर्ब ७६ करोड रुपैयाँ संस्थापक शेयर तथा ४४ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइने जनाइएको छ।
कम्पनीका प्रबन्ध सञ्चालक कृष्ण रानाभाटले विशेष साधारणसभाको आवश्यकता, औचित्य तथा कम्पनीका गतिविधिबारे जानकारी गराउँदै आगामी पुस महिनासम्ममा आईपीओ निष्कासन गर्ने लक्ष्य रहेको बताए।
सभामा कम्पनीकी सञ्चालक कल्पना विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्चालकद्वय गोपाल भट्टराई र पवनलाल राजवंशीको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शेयर सदस्य एकराज गिरीले गरेका थिए।

अध्यक्ष गिरीले कम्पनीले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन परियोजनामा लगानी गर्दै आएको र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। उनका अनुसार कम्पनीले जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खननलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको छ।
हरित अर्थतन्त्र, वातावरणीय संरक्षण र दिगो विकासको अवधारणालाई आत्मसात् गर्दै अघि बढिरहेको कम्पनीले छरिएर रहेको सानो–सानो पुँजीलाई एकीकृत गरी राष्ट्रिय अर्थतन्त्र र दिगो परियोजनामा लगानी गर्ने लक्ष्य राखेको अध्यक्ष गिरीले बताए।
उनले आईपीओ निष्कासनपछि कम्पनी सार्वजनिक स्वामित्वमा प्रवेश गर्ने उल्लेख गर्दै यसले पारदर्शिता, उत्तरदायित्व र संस्थागत सुशासनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। साथै हरित ऊर्जा र वातावरणमैत्री परियोजनामा लगानीमार्फत आर्थिक प्रतिफलसँगै रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण तथा वातावरणीय सन्तुलनमा दीर्घकालीन योगदान पुर्याउने लक्ष्य कम्पनीको रहेको उनले बताए।
कम्पनीले २०८२ पुस २७ गते तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ। हाल कम्पनी आईपीओ स्वीकृतिका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाइएको छ।


