
झापा, २१ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले उद्योगी–व्यवसायीलाई आपत्–विपत्का बेला राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको ‘व्यवसायी सदस्य राहतकोष’मा संघका कोषाध्यक्ष तथा युवा व्यवसायी युवराज निरौलाले तेस्रो पटक आर्थिक सहयोग प्रदान गरेका छन्।
आफ्नो जन्मदिनको अवसर पारेर निरौलाले राहतकोषमा ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन्। यसअघि पनि जन्मदिनकै अवसरमा दुई पटक सहयोग गरिसकेका उनले यस वर्ष समेत सोही रकम प्रदान गर्दै राहतकोषप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
उद्योगी–व्यवसायीका दुःख, संकट तथा आकस्मिक परिस्थितिमा साथ दिने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले अध्यक्ष राजु न्यौपानेको नेतृत्वमा ‘व्यवसायी सदस्य राहतकोष’ स्थापना गरेको हो। कोषलाई दीर्घकालीन तथा प्रभावकारी बनाउने लक्ष्यसहित एक करोड रुपैयाँको अक्षय कोष निर्माण गर्ने योजना अघि सारिएको संघले जनाएको छ।
राहतकोष सञ्चालन तथा व्यवस्थापनका लागि संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’को संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ। समितिले कोषका लागि आर्थिक स्रोत संकलन, व्यवस्थापन तथा आवश्यकताका आधारमा राहत वितरण गर्ने जिम्मेवारी पाएको छ।
संघका महासचिव कुशल खतिवडाका अनुसार राहतकोष स्थापना भएपछि सबैभन्दा पहिलो आर्थिक सहयोग गर्ने व्यक्ति पनि युवराज निरौला नै हुन्। उनले प्रारम्भमै ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्दै कोषको शुभारम्भ गराएका थिए।
निरौलाले निरन्तर रूपमा राहतकोषमा सहयोग गर्दै आएको उल्लेख गर्दै संघले उनको योगदानको उच्च मूल्यांकन गरेको छ। सोही योगदानको कदरस्वरूप संघका अध्यक्ष न्यौपानेले उनलाई कदरपत्र प्रदान गरी सम्मान गरेका छन्।
संघले व्यवसायी सदस्य राहतकोषलाई उद्योगी–व्यवसायीबीचको सहकार्य, सहानुभूति र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिँदै सबै सदस्य, व्यवसायी तथा शुभेच्छुकलाई कोषमा सहयोग गर्न आग्रह गरेको छ।
कोषमा पर्याप्त रकम संकलन भएपछि दुर्घटना, बिरामी, प्राकृतिक विपत्ति तथा अन्य आकस्मिक समस्यामा परेका सदस्य व्यवसायीलाई राहत तथा सहयोग उपलब्ध गराउने संघको योजना रहेको छ।
यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघले निरौलालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु, पारिवारिक सुख–समृद्धि तथा व्यवसायिक सफलताको कामना गरेको छ।


