
झापा, २७ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रभित्र ट्र्याक्टरद्वारा प्रदान गरिने जोताइ सेवाको शुल्क निर्धारण गरेको छ ।
नगरपालिकाले आज किसान, ट्र्याक्टर सेवा प्रदायक व्यवसायी तथा सरोकारवालासँगको छलफलपछि जोताइ सेवाको शुल्क तय गरेको जनाएको छ । कृषि कार्यमा एकरूपता कायम गर्दै किसान र सेवा प्रदायकबीच हुने विवाद न्यूनीकरण गर्ने उद्देश्यले शुल्क निर्धारण गरिएको नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङले जानकारी दिनुभयो ।
निर्धारित शुल्कअनुसार रोटाभेटरद्वारा जोताइ सेवाको शुल्क प्रतिघण्टा २ हजार ४९० रुपैयाँ र कल्टिभेटरद्वारा जोताइ सेवाको शुल्क प्रतिघण्टा २ हजार २९० रुपैयाँ तोकिएको छ ।
नगरपालिकाले ट्र्याक्टर जोताइ सेवा उपयोग गर्ने किसानले सेवा लिएको मितिले एक महिनाभित्र सम्बन्धित सेवा प्रदायकलाई शुल्क भुक्तानी गर्नुपर्ने जनाएको छ । शुल्क भुक्तानीसम्बन्धी कुनै विवाद उत्पन्न भए किसान र सेवा प्रदायक स्वयं जिम्मेवार हुने जनाइएको छ ।
नगरपालिकाले किसान तथा सेवा प्रदायकलाई निर्धारित शुल्क कार्यान्वयन गर्न आग्रह गर्दै कृषि क्षेत्रमा पारदर्शिता र सहजता कायम गर्न सहयोग पुर्याउन अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत अनुजकुमार घिमिरेले बताउनुभयो ।


