
बिर्तामोड, २९ जेठ । नेपाल–भारत सीमा सम्बन्धी द्विपक्षीय फिल्ड कार्यअन्तर्गत झापाको बिर्तामोडमा नेपाल र भारतका उच्च अधिकारीहरूको सहभागितामा फिल्ड सर्भे बैठक भएको छ ।
आज बिर्तामोडमा आयोजित बैठकमा भारतको बिहार राज्यअन्तर्गत किशनगञ्ज जिल्लाका जिल्ला अधिकारी (डीएम) विशाल राजसहित भारतीय सुरक्षा निकाय एसएसबीका अधिकारीहरूको सहभागिता रहेको थियो ।
नेपालतर्फबाट ताप्लेजुङ, पाँचथर, इलाम र झापाका प्रमुख जिल्ला अधिकारी तथा प्रतिनिधिहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरू, जिल्ला वन कार्यालयका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा नेपाल–भारत सीमा क्षेत्रको अवस्था, सीमा व्यवस्थापन, समन्वय तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । सीमा क्षेत्रमा देखिएका समस्याको समाधान तथा दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचारविमर्श गरिएको थियो ।


