
झापा, १ असार । झापाको कनकाई नगरपालिकामा एक महिलालाई घर पुर्याइदिन्छु भन्दै मोटरसाइकलमा चढाएर सुनका गहना लुट्ने प्रयास गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार जेठ ३० गते साँझ करिब ७ः४५ बजे पाँचथर फिदिम नगरपालिका–४ घर भई हाल कनकाई नगरपालिका–४ कोटीहोम बस्दै आएका करिब २२ वर्षीय जीवन तामाङले कनकाई नगरपालिका–३ टप्पुचोककी ५० वर्षीया बिमला लिम्बु भुजेललाई घर पुर्याइदिने भन्दै मे ४ प ८८३ नम्बरको मोटरसाइकलमा चढाएका थिए ।
घरतर्फ लैजाने क्रममा कन्काई नगरपालिका–१ र २ को सिमानामा रहेको बाघेखोला पुल नजिक पुगेपछि तामाङले भुजेलको कानमा लगाएको सुनको मुन्द्रा निकाल्न खोजेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोली खटिएको थियो । घटनास्थलमा पुग्दा स्थानीयबासीले तामाङलाई नियन्त्रणमा लिई कुटपिट गरेको अवस्थामा फेला पारेको थियो ।
घाइते तामाङलाई तत्काल कनकाई नगर अस्पताल सुरुङ्गामा उपचारका लागि लगिएको थियो । पछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचारपछि डिस्चार्ज गरी प्रहरीको नियन्त्रणमा रहेका छन् ।
प्रहरीले तामाङको साथबाट सुनको मुन्द्रा दुई थान, ओपो कम्पनीको मोबाइल एक थान, नगद ३ हजार रुपैयाँ र मोटरसाइकल बरामद गरेको छ । पीडित महिलालाई आफन्तको जिम्मा लगाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


