
झापा, १ असार । झापाको शिवसताक्षी नगरपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–७ निवासी ४० वर्षीय सुरज ढकाल र सोही वडाका ३१ वर्षीय सन्दिहाङ लिङ्देन रहेका छन् । उनीहरूको साथबाट प्लास्टिक बाहेक १२ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी, प्रहरीले उनीहरूको साथबाट नगद १ लाख १ हजार ९ सय रुपैयाँ, विभिन्न कम्पनीका २१ थान मोबाइल फोन तथा दुई थान घडी समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बरामद मोबाइल फोन र घडीहरू लागूऔषध प्रयोगकर्ताहरूले लागूऔषध खरिद गर्न बन्दकी राखेका सामान भएको खुलेको प्रहरीले जनाएको छ ।
लागूऔषध प्रयोगकर्ताहरूले आफ्ना मोबाइल तथा घडी बिक्रीकर्तासँग बन्दकी राखेर लागूऔषध सेवन गर्ने गरेको अनुसन्धानबाट देखिएको छ । घटनाका सम्बन्धमा पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


