
अर्जुनधारा, १ असार । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा लगायत) को उत्खनन, संकलन, प्रशोधन, ओसारपसार तथा बिक्री वितरण कार्यमा अस्थायी रोक लगाएको छ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा लगायत) को उत्खनन, संकलन, प्रशोधन, ओसारपसार तथा बिक्री वितरण कार्यमा अस्थायी रोक लगाएको हो ।
विरिङ, टाङ्टिङ, सुखानी लगायतका खोलाबाट नदीजन्य पदार्थ संकलन तथा बिक्रीका लागि गरिएको ठेक्का/सम्झौताको अवधि २०८२ साल जेठ मसान्तमै समाप्त भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुज कुमार घिमिरेले जानकारी दिनुभयो । नयाँ ठेक्का प्रक्रिया पूरा नभएसम्म प्रचलित कानुनी व्यवस्था तथा नदीजन्य पदार्थ उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम असार १ गतेदेखि यस्ता गतिविधि निषेध गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले सूचना अवज्ञा गरी उत्खनन, संकलन, ढुवानी वा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने, प्रयोगमा रहेका साधन तथा स्रोत जफत हुन सक्ने र क्षतिपूर्ति तथा जरिवाना समेत असुल गरिने चेतावनी दिएको छ।
नगरपालिकाले नदीजन्य पदार्थको अनधिकृत दोहन नियन्त्रण, प्राकृतिक स्रोतको संरक्षण तथा कानुनी शासनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सरोकारवाला, स्थानीयवासी, निर्माण व्यवसायी, श्रमिक तथा यातायात व्यवसायीलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ।



