
झापा, ३ असार । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
प्रहरी निरीक्षक न्यौपानेले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबल, व्यावसायिकता र जिम्मेवारीका साथ कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा उक्त सम्मान प्राप्त गरेका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको नेतृत्व सम्हाल्दै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागूऔषध तथा मादक पदार्थ सेवन जाँचलाई प्रभावकारी बनाउनुका साथै ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाहीको दायरामा ल्याउन विशेष पहल गरेका थिए।
त्यसैगरी, सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउन ‘सुरक्षित चालक अभियान’ सञ्चालन गरेका उनले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि प्रतिक्षालय निर्माण गरी सेवामैत्री वातावरण सिर्जना गरेका छन्।
ट्राफिक तथा पार्किङ व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय सरोकारवाला निकायसँग समन्वय गरी ह्विल लक, चेन लक, ‘नो पार्किङ’ बोर्ड, ट्राफिक कोन, ब्यारेकेड तथा रिफ्लेक्टिभ ज्याकेट प्रयोगमा ल्याई ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
न्यौपानेले समुदायस्तरमा निरन्तर ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै ‘न्भल(श्’ आन्दोलनका क्रममा क्षति पुगेका ट्राफिक लाइट तथा सोलार वार्निङ लाइट पुनः जडान गरी सवारी आवागमन व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएका थिए।
उनले सम्पादन गरेका यी कार्यहरूको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको जनाएको छ।


