झापा, ५ असार । झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे.४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे.१ त ७४०४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र समिरकी ५ वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि कनकाई अस्पताल सुरुङ्गा लगिएकोमा चिकित्सकले समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेको उहाँले बताउनुभयो ।
गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको छ भने दुर्घटनामा संलग्न मोटरसाइकल, ट्याक्टर तथा ट्याक्टर चालक कनकाई नगरपालिका–५ निवासी ४६ वर्षीय चक्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


