झापा, ५ असार । विकास निर्माणका योजना धेरै भित्र्याउने र प्रभावकारी कार्यान्वयन गर्ने वडाका रूपमा परिचित बुद्धशान्ति गाउँपालिका–१ ले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि पनि संघ र प्रदेश सरकारबाट उल्लेख्य संख्यामा योजना ल्याउन सफल भएको छ। वडामा आगामी वर्षका लागि २८ वटा योजना स्वीकृत भएका छन्, जसका लागि कुल ३ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
वडाध्यक्ष अनिल वाग्लेका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ मा पनि दुई दर्जनभन्दा बढी योजना वडामा परेका थिए भने आर्थिक वर्ष २०८१र८२ मा ३० भन्दा बढी योजना कार्यान्वयनमा ल्याइएका थिए। यसले बुद्धशान्ति–१ विकास योजनाको आकर्षक केन्द्रका रूपमा स्थापित भएको देखिन्छ।
चालु आर्थिक वर्षमा वडाले भौतिक पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएको थियो। विशेषगरी वडाको मुख्य ‘पी–वान’ सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। आगामी वर्षका लागि भने कृषि उत्पादन वृद्धि, सिँचाइ विस्तार, खानेपानी सुविधा सुधार तथा नदी–खोला नियन्त्रणका तटबन्ध निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको छ।
सबैभन्दा ठूलो बजेट कृषि सुधार सुब्बा–गिद्धे पैनी सिँचाइ योजनामा ८० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, संघीय विशेष अनुदानअन्तर्गत विरीड खोला तटबन्ध निर्माणका लागि ५० लाख रुपैयाँ, बुधबारे साना शहरी आयोजनाका लागि २५ लाख रुपैयाँ तथा दामा–हँडिया–डुम्रिबोट जलनिकास तथा सिँचाइ क्यानल निर्माणका लागि २० लाख रुपैयाँ बजेट सुनिश्चित गरिएको छ।
कृषि क्षेत्रको आधुनिकीकरण तथा किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले मिनी साइलेस मेसिन खरिद, मकै खेती प्रवर्द्धन, दूध प्रशोधन, मोही ब्रान्डिङ, क्रिम उत्पादन तथा बजारीकरणसम्बन्धी कार्यक्रमसमेत समावेश गरिएका छन्।
त्यसैगरी विभिन्न धार्मिक तथा सामाजिक संरचनाको संरक्षण र विकासका लागि पद्मावती देवी मन्दिर मर्मत, सिद्धिविनायक गणेश मन्दिरमा सभाहल निर्माण, विपी परोपकार कोष भवन मर्मत तथा बुधबारे जेसीज सचिवालय भवन निर्माणका योजना पनि समेटिएका छन्।
वडाध्यक्ष वाग्लेले संघ र प्रदेश सरकारसँग निरन्तर समन्वय र पहलका कारण वडामा विकास निर्माणका योजना भित्र्याउन सफल भएको बताउँदै आगामी वर्षमा कृषि उत्पादन वृद्धि, सिँचाइ सुविधा विस्तार, सुरक्षित खानेपानी तथा बाढी नियन्त्रणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे।
स्थानीयवासीले समेत कृषि, खानेपानी, सडक र तटबन्ध निर्माणका योजना कार्यान्वयनमा आएपछि वडाको समग्र विकासले थप गति लिने अपेक्षा गरेका छन्।


