झापा, ८ असार । कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट १० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ब्राउनसुगर, प्रतिबन्धित औषधि, गाँजा तथा नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार लागूऔषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने, मनोसामाजिक परामर्श प्रदान गर्ने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले परिचालित संयुक्त प्रहरी टोलीले उक्त कारबाही गरेको हो। पक्राउ परेकाहरूबाट कुल ७ ग्राम १०० मिलिग्राम ब्राउनसुगर, ठूलो परिमाणमा गाँजा, ५९ क्याप्सुल, २९९ ट्याब्लेट प्रतिबन्धित औषधि तथा ६९ हजार ७२० रुपैयाँ नगद बरामद गरिएको छ।
झापाको कन्काई नगरपालिका–४ का २१ वर्षीय हेमबहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले ३८० मिलिग्राम ब्राउनसुगर, ४५ क्याप्सुल ट्रामाडोल, ४४ ट्याब्लेट डाइसाइक्लोमाइन, १३ ट्याब्लेट नाइट्राजेपाम र ४८ हजार १५० रुपैयाँ नगदसहित पक्राउ गरेको छ।
यस्तै, वडा प्रहरी कार्यालय भद्रपुर र सीमा सुरक्षा गुल्म भद्रपुरको संयुक्त टोलीले पाँचथरको फिदिम नगरपालिका–१ का १९ वर्षीय नुमसिक लिम्बुलाई ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ। भद्रपुर नगरपालिका–८ क्षेत्रमा मेचीनगर नगरपालिका–१३ का २३ वर्षीय आशिष गुरुङलाई १ ग्राम ब्राउनसुगर र १९ हजार ५०० रुपैयाँ नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मोरङको पथरीशनिश्चरे क्षेत्रमा प्रहरी चौकी कुशेचौरीले २५ वर्षीय अमन लिम्बु, २१ वर्षीय सन्दीप लिम्बु, २३ वर्षीय चन्द्र राई र १७ वर्षीय विजय राईलाई १ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले इटहरी उपमहानगरपालिका–५ का २८ वर्षीय प्रकाश मादेन र १८ वर्षीय अनमोल सिवालाई १२७ ट्याब्लेट ट्रामाडोल र १२७ ट्याब्लेट स्पास्पेनसहित पक्राउ गरेको छ।
धरान उपमहानगरपालिका–१३ का ३२ वर्षीय राजकुमार तामाङ ९माकुने० लाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवाको संयुक्त टोलीले १ ग्राम २०० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
यसैबीच, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको एक्ष्त् शाखा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी नदी किनारबाट ९ वटा प्लास्टिकको बोरामा राखिएको १६८ किलोग्राम गाँजा बरामद गरेको छ। पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


