चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्रका लागि प्रतिनिधिहरू हलभित्र प्रवेश गर्न थालेका छन्। चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रको आयोजना गरिएको हो।
बिहानैदेखि बन्दसत्र सुरु हुने कार्यतालिका रहे पनि तयारी कार्य बाँकी रहेकाले कार्यक्रम केही ढिलो हुने नेताहरूले बताएका छन्। प्रदर्शनी केन्द्रका तीनवटा ठूला हलमध्ये दुईवटामा बन्दसत्रको व्यवस्था गरिएको छ भने अर्को हलमा प्रतिनिधिहरूका लागि खाजा तथा भोजनको व्यवस्था मिलाइएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि छलफलपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि पनि छलफल हुने कार्यसूची रहेको छ।
त्यसैगरी, महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उक्त प्रतिवेदनमाथि समेत प्रतिनिधिहरूले छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। उक्त प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिनेछ। साथै, सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने र आयोजक समितिले सम्पूर्ण जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजै उम्मेदवार मनोनयनका लागि फाराम वितरण गरिनेछ। महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ।


