
झापा, १६ असार । जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रशासनले सोमबार जारी गरेको विज्ञप्तिमा मनसुनी गतिविधि तीव्र भई मेघगर्जन, चट्याङसहित भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र तथा डुबानको जोखिममा रहेका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। साथै, अकस्मात् बाढी आउन सक्ने खोला तथा खहरेको बाटो प्रयोग नगर्न, खोला–खहरे नतर्न र सुरक्षित स्थानबारे पूर्वजानकारी लिन आग्रह गरिएको छ।
झापाका प्रमुख नदी कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा आसपासका क्षेत्र बाढीबाट बढी प्रभावित हुने गरेका छन्। जिल्लाका १५ स्थानीय तहमध्ये गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर दक्षिणी भेगका स्थानीय तह बाढी तथा डुबानको उच्च जोखिममा रहेका छन्।
सम्भावित विपद्को प्रभाव न्यूनीकरणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय तहका संयन्त्रलाई राहत सामग्रीसहित तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिले एकीकृत विपद् प्रतिकार्य योजना तयार गरी सबै निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “झापामा विभिन्न प्रकारका विपद्को सम्भावना रहे पनि बाढी सबैभन्दा ठूलो जोखिम हो। त्यसैले जनधनको क्षति हुन नदिन आवश्यक सबै तयारी गरिएको छ। प्रहरी, सेना, रेडक्रस र स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको छ।”
नेपाल रेडक्रस सोसाइटी झापाले पनि बाढी प्रभावित हुन सक्ने तल्लो तटीय क्षेत्रमा विशेष पूर्वतयारी गरेको जनाएको छ।
रेडक्रस झापाका सभापति लोकराज ढकालका अनुसार जिल्लाका आठ हजारभन्दा बढी घरधुरी बाढीको अति उच्च जोखिममा छन्। सम्भावित विपद्लाई ध्यानमा राख्दै १२० भन्दा बढी स्वयंसेवक तथा प्राथमिक उपचार टोली खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको छ। साथै, आकस्मिक अवस्थाका लागि जिल्लाका सात स्थानमा खाद्यान्नलगायत राहत सामग्री भण्डारण गरिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार स्थानीय तह र सुरक्षा निकायसँगको समन्वयमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन तथा पूर्वसूचना प्रणालीलाई पनि थप प्रभावकारी बनाइएको छ।
यसैबीच, समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सशस्त्र प्रहरी बलको आयोजनामा झापामा विशेष तालिम सम्पन्न भएको छ।
असार ९ गतेदेखि सञ्चालन भएको तालिममा भद्रपुर, बिर्तामोड, अर्जुनधारा, मेचीनगर र कनकाई नगरपालिकाका २० जना नगर प्रहरीलाई समुदायस्तरमा विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि दक्ष बनाइएको छ।


