
झापा, १९ असार । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको छ ।
असार १९ गते भएको निरीक्षण भ्रमण कार्यक्रममा वँहाले कार्यालय भवन, सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशन सम्बोधनको क्रममा वँहाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा आपसी भाईचारा तथा सहयोगी भावनाका साथ आचरण व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।
यसैगरी वहाँले धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिकरुपमा उम्रिएका र लगाईएका गाँजाका बोट तथा विरुवाहरुलाई फडानी गरी नष्ट गर्न तथा लागू औषध गाँजाको ओसारपसारलाई नियन्त्रण गर्न निर्देशन दिनु भएको छ । सोही क्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण रंजितकारले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र प्रहरीद्वारा सम्पादित विविध गतिविधिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।


