
झापा, १९ असार । नेपाल प्रहरीले मनसुनजन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि देशभर १० हजार ८५ जना प्रहरीलाई तयारी अवस्थामा राखेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार विपद्को अवस्थामा तत्काल उद्धार तथा राहतका लागि प्रहरी हेडक्वार्टरदेखि चौकीस्तरसम्म आवश्यक उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ।
प्रहरीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अनुसार आफ्नो कार्ययोजना लागू गरेको जनाएको छ।
जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार सामग्रीको मर्मतसम्भार, उद्धार टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राख्नुका साथै मनसुनजन्य उद्धार अभ्यास र सामुदायिक सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ। साथै आवश्यकताअनुसार अन्य सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित संस्थासँग समन्वय गरेर उद्धार कार्यलाई थप प्रभावकारी बनाइने प्रहरीले जनाएको छ।


