
झापा, २० असार । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी (पासपोर्ट) सेवा सञ्चालन गर्ने भएको छ।
विभागले शुक्रबार सूचना जारी गर्दै नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण गर्ने क्रममा केही दिन राहदानी सेवा प्रभावित हुने विभागले जनाएको छ। सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिनका लागि बन्द रहनेछ।
त्यसैगरी, राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने सेवा असार २५ र २६ गते दुई दिनका लागि बन्द रहने जनाइएको छ। विभागका अनुसार असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन हुनेछ।
सेवा अवरुद्ध हुने अवधिमा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभागले क्षमायाचना गरेको छ। यसअघि विभागले गत फागुन २८ गते नै नयाँ प्रणाली लागू गर्ने तयारीस्वरूप केही दिन सेवा प्रभावित हुन सक्ने सूचना सार्वजनिक गरेको थियो।


