
झापा, २० असार । झापाको अर्जुनधारा नगरपालिका–८ स्थित सब्जीलाइन क्षेत्रमा ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार अपराह्न करिब ३ बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त टोलीले बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ निवासी ४१ वर्षीय सरोज गहतराजको साथबाट ‘N10’ लेखिएको खोलबिनाको ३० थान सेतो ट्याब्लेट तथा ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित ३३ ग्राम १०० मिलिग्राम र प्लास्टिकबाहेक २३ ग्राम ५५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। साथै, दुई थान मोबाइल फोन समेत बरामद गरिएको छ।
प्रहरीले लागूऔषध, मोटरसाइकल र पक्राउ परेका गहतराजलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


