
काँकडभिट्टा, २१ असार । मेची नेत्रालय तथा नेत्र अनुसन्धान केन्द्र प्रालिले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा मेचीनगर नगरपालिकाका बासिन्दाका लागि विशेष स्वास्थ्य सेवा तथा छुट योजना सार्वजनिक गरेको छ।
समुदायलाई सहज, गुणस्तरीय र पहुँचयोग्य नेत्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत मेचीनगरका स्थायी बासिन्दाले केवल ५० रुपैयाँमा आँखा परीक्षण गराउन सक्नेछन्। साथै, मोतिबिन्दुको शल्यक्रियामा विशेष छुट तथा चश्मा खरिदमा २० प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएको छ।
यो सुविधा मेचीनगर नगरपालिकाका स्थायी बासिन्दाका लागि मात्र लागू हुने अस्पतालले स्पष्ट गरेको छ। सेवाग्राहीले आवश्यक परिचय खुल्ने कागजातसहित अस्पतालमा उपस्थित भई उक्त सुविधाको लाभ लिन सक्नेछन्।
मेची नेत्रालयले विगत १९ वर्षदेखि पूर्वी नेपालमा आधुनिक प्रविधिसहित गुणस्तरीय नेत्र उपचार सेवा प्रदान गर्दै आएको छ। उपचार सेवासँगै निःशुल्क आँखा शिविर, जनचेतनामूलक कार्यक्रम तथा विभिन्न सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ।
अस्पतालका चिकित्सा निर्देशक डा. शरदचन्द्र राईले वार्षिकोत्सवको अवसरमा स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले विशेष योजना सञ्चालन गरिएको बताउनुभयो। उहाँले समयमै आँखा परीक्षण र उपचार गराउँदा अधिकांश दृष्टिसम्बन्धी समस्याबाट बच्न सकिने भएकाले मेचीनगरवासीलाई यस योजनाको अधिकतम लाभ लिन आग्रह गर्नुभयो।
उहाँले आगामी दिनमा पनि समुदायको हितलाई केन्द्रमा राखेर यस्ता जनमुखी स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै गुणस्तरीय नेत्र सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


