
एजेन्सी, २३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्ररूपमा घट्ने र ग्यासको मूल्य प्रतिग्यालन २ अमेरिकी डलरभन्दा कम हुने दाबी गर्नुभएको छ ।
ट्रम्पले मध्यपूर्वमा चलिरहेको सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताउनुभयो । उहाँले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनीसमेत दिनुभयो ।
यसको जवाफमा इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिनुभएको छ । उहाँले इरानी तेल तथा ग्यास क्षेत्रमा संलग्न अमेरिकी कम्पनीसमेत जोखिममा पर्ने बताउनुभयो ।
यसैबीच अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले इरानले अमेरिकी जहाजमाथि आक्रमण गरे इरानी तेल ट्याङ्क नष्ट गर्ने चेतावनी दिनुभएको छ । उहाँले इरानसँग प्रभावकारी नौसेना तथा वायुसेना नरहेको दाबी गर्दै अमेरिकी विमान, जहाज र पनडुब्बीले इरानी सैन्य तथा तेल पूर्वाधारमाथि प्रहार गर्न सक्ने बताउनुभयो ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले ३ इरानी कच्चा तेल ट्याङ्कर ‘इस्लामिक रिभोलुशनरी गार्ड कोप्र्स’ (आईआरजीसी) र उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने अर्बौँ डलरको ‘छाया सञ्जाल’ को हिस्सा रहेको दाबी गरेको छ । सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले आवश्यक परे इरानको तेल ट्याङ्क बेडामाथि कारबाही गर्न अमेरिका पछि नहट्ने बताउनुभयो ।
अमेरिकाले युद्धलाई विजय र ऊर्जा मूल्य घट्ने दाबीसँग जोडिरहँदा इरानले ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । बढ्दो तनावले विश्व ऊर्जा बजारमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ ।


