
झापा, २३ असार । मोरङको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरले खुकुरी प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २२ गते राति करिब साढे ८ बजे २१ वर्षीय सौचन खवासले आफ्ना दाइ कपिल खवासकी २० वर्षीया श्रीमती सीमा राजवंशीमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका थिए । घाँटीमा गम्भीर चोट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । सीमालाई बचाउन खोज्ने क्रममा सोही स्थानका ४४ वर्षीय शिवलाल खवास पनि घाइते भएका छन् । नाताले ठुलोबुबा पर्ने शिवलालको दाहिने कुममा गहिरो चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैचा र इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले हत्यामा संलग्न सौचन खवासलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका अनुसार पक्राउ परेका खवासलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ ।


