
झापा, २५ असार । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्ने कार्यका कारण आज असार २५ र भोलि असार २६ गते (जुलाई ९ र १०) राहदानीसम्बन्धी सेवा बन्द रहने जनाएको छ।
विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गरिने भएकाले यी दुई दिन नयाँ राहदानी आवेदन, नवीकरणलगायतका नियमित सेवा उपलब्ध हुने छैनन्।
यसअघि पनि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण असार २५ र २६ गते सेवा अवरुद्ध हुने जानकारी गराएको थियो।
यद्यपि, विभागमा तयार भइसकेका राहदानीको वितरण कार्य भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरिसकेका सेवाग्राहीले विभागमा उपस्थित भई आफ्नो राहदानी बुझ्न सक्ने विभागले जनाएको छ।
विभागले नयाँ प्रणालीमार्फत राहदानी सेवा थप प्रभावकारी, सुरक्षित र सहज बनाउने उद्देश्यका साथ प्रणाली रूपान्तरणको काम अघि बढाइएको जनाएको छ।


