
झापा, २५ असार । राष्ट्रिय सभाले आजको बैठकबाट सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ सहित ६ वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ।
पारित हुने अन्य विधेयकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३, आर्थिक विधेयक, २०८३ तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ रहेका छन्।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गराई समितिको प्रतिवेदनसहित तथा दुई वटा आश्रित विधेयक सभामै छलफल गरेर एकै दिन पारित गरी प्रतिनिधिसभामा पठाउन राष्ट्रिय सभा सफल भएको बताउनुभयो।
उता, प्रतिनिधिसभाको आजको दोस्रो बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चार वटा विधेयक टेबुल गरी स्वीकृत गरेको छ।
स्वीकृत हुने विधेयकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन्।


