
झापा, २६ असार । झापाको बाह्रदशी गाउँपालिका–४ स्थित जनविकास माध्यमिक विद्यालयले स्थापना भएको ७२ वर्षपछि पहिलोपटक जग्गादाता तथा संस्थापक सम्मान कार्यक्रम आयोजना गरेको छ। २०११ सालमा स्थापित विद्यालयले बिहीबार विशेष समारोहबीच जग्गादाता, संस्थापक तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको हो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष समिर मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाह्रदशी गाउँपालिका–४ का वडाध्यक्ष महताव आलम प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव पोख्रेलले विद्यालयको शैक्षिक सुधारबारे जानकारी दिँदै २०८० सालको एसईई परीक्षामा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेको विद्यालयले २०८१ सालमा ५.२६ प्रतिशत र २०८२ सालमा २८.५७ प्रतिशत नतिजा हासिल गरेको बताउनुभयो। आगामी वर्ष एसईईमा ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो।
हाल विद्यालयमा ४५६ विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै प्रधानाध्यापक पोख्रेलले वडा नम्बर–४ को एकमात्र सामुदायिक विद्यालयमा करिब ९५ प्रतिशत विद्यार्थी मुस्लिम समुदायका रहेको बताउनुभयो। आगामी पाँच वर्षभित्र विद्यालयलाई गाउँपालिकाकै उत्कृष्ट विद्यालयका रूपमा विकास गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने लक्ष्य रहेको पनि उहाँले सुनाउनुभयो।
कार्यक्रममा विद्यालयका जग्गादाता तथा संस्थापकहरूलाई मरणोपरान्त सम्मान गर्दै उहाँहरूका परिवारलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो।
मरणोपरान्त सम्मानित हुने जग्गादातामा स्वर्गीय बुल्ला मिया, स्वर्गीय लक्ष्मीदेवी गणेश, स्वर्गीय लिला गणेश, स्वर्गीय कालीप्रसाद गणेश तथा संस्थापक प्रधानाध्यापक स्वर्गीय प्रेमानन्द गोस्वामी रहनुभएको थियो। त्यसैगरी जीवित जग्गादाता रेनुका देवी गुरागाईं र ठण्डाकुमारी गणेशलाई पनि सम्मान गरिएको थियो।
यसै अवसरमा २०८२ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउने आफ्रिन निसा तथा कक्षा–८ मा उत्कृष्ट हुने जानकी शर्मालाई नगदसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा जग्गादाता तथा संस्थापकहरूको नामावली समेटिएको शिलालेख अनावरण गर्नुका साथै उहाँहरूको तस्वीर विद्यालय कार्यालयमा स्थापना गरिएको थियो। साथै मुस्लिम समुदायका छात्राहरूले आफ्नो मौलिक सांस्कृतिक पहिरनमा आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए।
समारोहमा समाजसेवी सोमनाथ बजगाई, नेपाल रेडक्रस सोसाइटीका ओमप्रकाश गौतम, गाउँपालिकाकी शिक्षा शाखा प्रमुख गीता देवी सुवेदी, स्थानीय सूर्यानारायण गणेश, सम्मानित परिवारका तर्फबाट दयानन्द गोस्वामी, पूर्व संविधानसभा सदस्य हरिबहादुर राजवंशी तथा वडाध्यक्ष महताव आलमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले २०११ सालमा स्थापना भएको विद्यालयले पहिलोपटक यस्तो सम्मान कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गर्दै विद्यालयको सम्पूर्ण जग्गाको अभिलेखीकरण गरी दाताहरूको पूर्ण पहिचान सुनिश्चित गर्न सुझाव दिएका थिए। साथै हालै बाह्रदशी गाउँपालिकाले नयाँ प्रधानाध्यापक नियुक्ति गरेपछि प्रधानाध्यापक शिव पोख्रेल अन्यत्र जाने अवस्था सिर्जना भएको उल्लेख गर्दै उहाँलाई काजमा भए पनि यही विद्यालयमै निरन्तर जिम्मेवारी दिन गाउँपालिकासँग आग्रह गरेका थिए।
कार्यक्रममा शिक्षिका धनमाया नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन शिक्षक टीका गणेश र शिक्षिका तुलसा काफ्लेले संयुक्त रूपमा गर्नुभएको थियो।


