
झापा, २७ असार । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट लागूऔषध कारोबारमा संलग्न सात जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको साथबाट ७ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर र स्पास्पेनका २५० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
झापाको भद्रपुर नगरपालिका–४ स्थित नर्सिङ बगान क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–८ का लखन वास्के तथा बिर्तामोड नगरपालिका–७ का राम किस्कु, सुफल मुर्मु र रमेश उप्रेतीलाई ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
उदयपुरमा प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले त्रियुगा नगरपालिका–६ मा लहानबाट गाईघाटतर्फ आउँदै गरेको को २० प ८२०२ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा चालक सिराहाको लहान नगरपालिका–२२ का सन्दिप चौधरीलाई ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरान उपमहानगरपालिका–१६ का बिनोद लिम्बु र मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का दिपेश चौधरीलाई शङ्काका आधारमा जाँच गर्दा ३ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर र स्पास्पेनका २५० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ। दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।


