
झापा, २७ असार । पोखराको पर्यटकीय क्षेत्र सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१८ सेदीस्थित स्थानीय जीवन श्रेष्ठको घरमा सफ्टवेयर कम्पनी सञ्चालन गर्ने बहानामा कोठा भाडामा लिएर अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन भइरहेको सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।
पक्राउ पर्नेमा भारतका भुपा मानपुर निवासी ३४ वर्षीय सत्यम सिंहसहित २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिंह तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र, २४ वर्षीय सत्यम राजपूत तथा दार्चुलाका ३१ वर्षीय दिनेश सिंह बोहोरा रहेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरूले २०८२ साल चैत १८ गतेदेखि उक्त घर भाडामा लिएर अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको खुलेको छ।
घटनास्थलबाट प्रहरीले सात थान ल्यापटप, छ थान मनिटर, ३१ थान मोबाइल, नौ थान किबोर्ड, चार थान मल्टिप्लग, एक थान १२ भोल्टको ब्याट्री, एक थान युपिएस, दुई थान राउटर, १६ थान चार्जर तथा ३४ थान भारतीय सिमकार्ड बरामद गरेको छ।
अनुसन्धानका क्रममा टेलिग्राम र ह्वाट्सएपमार्फत ‘गुरुभाइ २४७ डट प्रो’ नामक लिङ्क पठाई प्रयोगकर्तालाई दर्ता गराएर क्रिकेट, फुटबल, क्यासिनोलगायतका खेलमा सट्टेबाजी गराउने गरिएको खुलेको प्रहरीले जनाएको छ। खेल जित्ने व्यक्तिलाई अनलाइनमार्फत रकम भुक्तानी गर्ने व्यवस्था गरिएको थियो।
प्रहरीका अनुसार उक्त समूहले दैनिक तीनदेखि चार लाख भारतीय रुपैयाँसम्म आम्दानी गर्ने गरेको पाइएको छ। यसको मुख्य सञ्चालन केन्द्र भारतमा रहेको र पोखरास्थित केन्द्र २७औँ शाखाका रूपमा सञ्चालन भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यहाँ कार्यरत व्यक्तिले मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेका थिए।
अनलाइन कारोबारका लागि भारतीय नागरिकका बैंक खाता भाडामा प्रयोग गरिएको तथा एक्सिस बैंक, आइडिएफसी बैंक, क्यानरा बैंक, २४ पे, पे बजार, गुगल पे र नोक्सोन पेलगायतका डिजिटल माध्यमबाट कारोबार गरिएको तथ्य पनि फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका कम्प्युटरबाट ठूलो रकमको कारोबार भएको विवरण भेटिएको छ। तीन वटा प्रणालीमा क्रमशः १ करोड ११ लाख ९९ हजार ११८, ९ करोड २ लाख २२ हजार २६ र १० करोड ५५ लाख ६८ हजार ६९० क्रेडिटको कारोबार देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भाडामा लिइएको घरमै बसोबास, खानपिन र अनलाइन सट्टेबाजी सञ्चालनको व्यवस्था गरिएको थियो। घटनामा अन्तरदेशीय गिरोहको संलग्नता हुन सक्ने आशंकासहित बरामद उपकरण तथा प्रयोग भएका बैंक खाता र डिजिटल माध्यमको थप प्राविधिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।


