
झापा, २८ असार । कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट लागूऔषध कारोबारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको साथबाट २ किलो ९५७ ग्राम गाँजा र ७ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । झापाको झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले भारतको अररिया जिल्ला, पलासीका मोहम्मद मुक्तर र नसाद आलमलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
संखुवासभामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा खाँदबारी नगरपालिका–८ अर्चलेस्थित ७० वर्षीय रत्नबहादुर मगरको घरमा खानतलासी गर्दा बोराभित्र लुकाइराखिएको २ किलो ९५७ ग्राम गाँजा बरामद गरेको हो । सोही गाँजासहित मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR38V0784 नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। उक्त लागूऔषधसहित मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का सुरेन्द्र महत्तोलाई पक्राउ गरिएको छ ।
सुनसरीकै इटहरी उपमहानगरपालिका–१ आदर्श टोलमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले इटहरी–२० का ३६ वर्षीय हरिप्रसाद पराजुलीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–५ कर्म टोलस्थित एक घरमा लागूऔषध सेवन तथा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले छापा मार्दा ३ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। घटनामा संलग्न कानेपोखरी–५ का १९ वर्षीय संजय मुसहर, ४१ वर्षीय संजय चौधरी तथा लेटाङ नगरपालिका–३ का २४ वर्षीय रमेश सुबेदी पक्राउ परेका छन्।
पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।


