
बैंकक, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्।
थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चानविराकुलका अनुसार आगलागी भएको भवनबाट २७ जनाको शव निकालिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही व्यक्ति अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
आइतबार मध्यरातपछि आगलागी भएको खबर पाएलगत्तै घटनास्थल पुगेका अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिएका थिए। तर त्यतिन्जेलसम्म ठूलो मानवीय र भौतिक क्षति भइसकेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बारबाट आगोको ठूलो लप्का निस्किएको, मानिसहरू ज्यान जोगाउन भागिरहेको तथा भागदौडका क्रममा केही व्यक्ति लडेको र आगोले जलेको देखिन्छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये नौ पुरुष र १८ महिला छन्। प्रधानमन्त्री चानविराकुलले आगो लाग्नेबित्तिकै धेरै मानिस भवनको पछाडिपट्टि रहेको शौचालयमा लुक्न खोज्दा धुवाँका कारण निसास्सिएर मृत्यु भएको बताए। उनका अनुसार अधिकांश शव शौचालयभित्रै फेला परेका छन्।
आगलागी हुँदा प्रस्तुति दिइरहेका एक सङ्गीतकर्मीलाई उद्धृत गर्दै प्रधानमन्त्रीले कट–आउट स्विचमा आगो सल्किएपछि विस्फोट भएको र त्यसपछि धुवाँ तथा आगो तीव्र रूपमा फैलिँदा मानिसहरू भाग्न बाध्य भएको बताए।
आगलागी भएको बार बैंककको चाटुचक जिल्लामा रहेको ‘रोङ बियर ना लात फ्राओ’ नामक लोकप्रिय रेस्टुरेन्ट तथा मनोरञ्जन स्थल रहेको बताइएको छ। आगो नियन्त्रणपछि सार्वजनिक तस्बिरहरूमा बारभित्रका फर्निचर, पर्खाल र छत पूर्ण रूपमा जलेर नष्ट भएको तथा बाहिर शव राखिएका झोलाहरू लस्करै देखिन्छन्।
बैंककका गभर्नर चाटचार्ट सिट्टिपुन्टले बारभित्र प्रयोग गरिएका प्रज्वलनशील सामग्रीका कारण आगो तीव्र रूपमा फैलिएको प्रारम्भिक अनुमान रहेको बताए। साथै, पसलहरूले आपत्कालीन निकासको बाटो अवरुद्ध पारेको हुन सक्ने प्रारम्भिक सूचना प्राप्त भएको उल्लेख गर्दै उनले घटनाबारे फरेन्सिक टोलीबाट विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।
स्थानीय समयअनुसार राति करिब ११ः३० बजे एक चालकले बारमा आगो लागेको देखेपछि कारबाट ओर्लिएर झ्यालको सिसा फुटाई दुई जनाको उद्धार गर्न सफल भएको बताइएको छ।
प्रहरीले आगलागीको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान अघि बढाएको छ।


