
झापा, ३० असार । सरकारले मिटरब्याज तथा अनुचित लेनदेन पीडितका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
बैठकले विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। विपद्को समयमा नागरिकको जिउधनको सुरक्षामा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले उक्त निर्णय गरिएको मन्त्री पोखरेलले बताउनुभयो।
यस्तै, मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको छ।
बैठकले नेपाल वायुसेवा निगमको सञ्चालक समितिको कार्यकारी अध्यक्षमा महाप्रबन्धकको समेत जिम्मेवारी रहने गरी महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने तथा बिउ विजन (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।


