
झापा, ३१ असार । नेपाल आयल निगमले आज (बुधबार)देखि साविककै १४.२ किलोग्राम एलपी ग्यास भरिएका सिलिन्डर बजारमा पठाउन उद्योगीलाई निर्देशन दिएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट एलपी ग्यास लोडिङको अवस्थामा सुधार आएपछि पूर्ण तौलका सिलिन्डर वितरण गर्ने निर्णय गरिएको हो।
निगमले १४.२ किलोग्राम ग्यास भएको सिलिन्डरको उपभोक्ता मूल्य प्रतिगोटा रु दुई हजार ६० कायम रहेको जनाएको छ।
यसअघि ग्यासको आपूर्ति तथा वितरण प्रणाली सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ किलोग्राम (आधा तौल) ग्यास भरिएका सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिएको थियो। अब भने उक्त व्यवस्था हटाएर पुनः पूर्ण तौलका सिलिन्डर बजारमा पठाउन थालिएको छ।


