
इलाम, ३२ असार । दुई वर्षअघि भीषण आगलागीबाट करोडौँ रुपैयाँको क्षति बेहोरेको इलामको जस्बिरे चिया प्रशोधन उद्योग अहिले पुनः लयमा फर्किएको छ। उद्योगले उत्पादन क्षमता तीन गुणाले विस्तार गर्दै वार्षिक एक लाख केजी अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्ने तयारी गरेको छ।
इलाम नगरपालिका–४ जस्बिरेस्थित उद्योगका सञ्चालक गृष्म सुब्बाका अनुसार हाल उद्योगले स्थानीय १८५ घरपरिवारले उत्पादन गरेको हरियोपत्तीका साथै आफ्नै ६० रोपनी र भाडामा लिएको ४०० रोपनी जमिनमा उत्पादन हुने चियापत्ती प्रशोधन गर्दै आएको छ।
उद्योगले उत्पादन गर्ने अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान, जर्मनी, फ्रान्स, चीन, नेदरल्याण्ड र डेनमार्कसम्म निर्यात हुँदै आएको छ।
सञ्चालक सुब्बाका अनुसार यसअघि वार्षिक ३० हजार केजी चिया उत्पादन हुँदै आएकोमा यस वर्षदेखि उत्पादन क्षमता बढाएर एक लाख केजी पुर्याउने लक्ष्य राखिएको छ।
दुई वर्षअघि भएको आगलागीमा करिब आठ करोड रुपैयाँ बराबरको क्षति भएपछि उद्योगले पुनः शून्यबाट यात्रा सुरु गर्नुपरेको थियो। अहिले भने उद्योग पुनर्निर्माणसँगै आधुनिक उपकरण जडान गरेर उत्पादन विस्तार गरिएको छ।
प्रतिकेजी १५ हजारमा बिक्री हुने ‘स्पेशल टी’
उद्योगको सबैभन्दा विशेष उत्पादन ‘स्पेशल टी’ हो। वार्षिक करिब सात हजार केजी उत्पादन हुने यस चियामध्ये झण्डै दुई हजार केजी कोपिलाबाट ९सुइरो० मात्र तयार गरिन्छ।
उद्योगका अर्का सञ्चालक तथा ‘नेपाल टी च्यालेन्ज–२०२४’ का ‘बेस्ट टी मेकर’ शरद सुब्बाका अनुसार उद्योगले यो चिया प्रतिकेजी १५ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ। विदेशी बजारमा भने यही चिया प्रतिकेजी एक लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो।
१४ लाखबाट सुरु, आठ करोडको उद्योग
करिब एक दशकअघि १४ लाख रुपैयाँको लगानीबाट सुरु भएको उद्योग अहिले आठ करोड रुपैयाँभन्दा बढी लगानीको बनेको छ।
उद्योगको सफलतामा सुब्बा परिवारका सबै सदस्य सक्रिय छन्। शरद सुब्बाले उत्पादन तथा गुणस्तर व्यवस्थापन सम्हाल्दै आएका छन् भने गृष्म सुब्बाले बजार व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका छन्। अर्का सदस्य निर्विकल्प सुब्बाले प्राविधिक पक्ष हेर्छन् भने अस्ट्रेलियामा अध्ययनरत विकल्प सुब्बा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा जुटेका छन्। नयाँ पुस्ताका रूपमा कर्म सुब्बाले उद्योगमा आउने विदेशी पाहुनालाई चियाबारे जानकारी गराउने काम गर्दै आएका छन्।
३५ भन्दा बढी प्रकारका अर्गानिक चिया
उद्योगले सुनकेसरी, रेड पान्डा, कोठीडाँडा ब्युटी लगायत ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्दै आएको छ।
स्थानीय स्तरमा सुरु भएको यो उद्योग अहिले नेपालको उच्च गुणस्तरको चियालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने सफल ‘ब्रान्ड’का रूपमा स्थापित हुँदै गएको छ।


