
बिर्तामोड, १ साउन । दोस्रो स्थापना दिवसको अवसरमा वैदेशिक रोजगार व्यवसायी संघ झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको छ।
संघका प्रथम उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजन सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मा प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा संघकी महिला उपाध्यक्ष सरिता बरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि शर्मा, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी तथा बिर्तामोड–१ का वडा सदस्य टेकबहादुर अधिकारीले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका गतिविधिको प्रशंसा गर्दै रक्तदान कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
महासंघका अध्यक्ष गिरीले वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठनले विगतमा बाढी–पहिरोलगायत विभिन्न विपद्का बेला तथा गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको तोडफोड र आगजनीका घटनामा समेत उल्लेखनीय सहयोग गरेको स्मरण गर्नुभयो।
उहाँले वर्तमान कानुनी जटिलता र केही व्यवहारिक नीतिका कारण वैदेशिक रोजगार क्षेत्र चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै व्यवसायीहरूले देखिएका कमजोरी सुधार गर्दै सेवालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
‘रक्तदान गरौँ, जीवन बचाऔँ’ तथा ‘तपाईंको एक थोपा रगतले कसैको जीवनमा नयाँ आशा दिन सक्छ, आउनुहोस्, रक्तदानमार्फत मानवताको सेवा गरौँ’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा म्यानपावर व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले रक्तदान गरेका थिए।
रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी झापाले गरेको थियो भने सह–प्रायोजकका रूपमा सीपी होटल बिर्तामोड रहेको थियो।
संघका उपाध्यक्ष प्रकाश राईका अनुसार कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको हो। कार्यक्रमको सञ्चालन संघका महासचिव नीरकुमार खत्री (निरन) ले गर्नुभएको थियो।


