
काठमाडौं, १ साउन । आगामी साताभर देशभर मनसुनी गतिविधि सक्रिय रहने र साताको मध्यतिर विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागकी मौसमविद् विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थानभन्दा माथि रहनेछ भने पूर्वी भूभागमा साताको मध्यदेखि सरदर स्थानभन्दा केही माथि सर्दै तराई नजिक रहने अनुमान छ। यसका कारण साताभर देशभर वर्षाको गतिविधि सक्रिय रहनेछ।
हिमाली क्षेत्रमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साताको सुरु र मध्यतिर मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको छ। साताको सुरु र अन्त्यमा एक–दुई स्थान तथा मध्यतिर केही स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि मध्यम वर्षासँगै साताको मध्यमा केही स्थानमा भारी वर्षाको सम्भावना छ।
पहाडी क्षेत्रमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा साताभर मध्यम वर्षा हुने अनुमान गरिएको छ। साताको सुरु र अन्त्यमा केही स्थानमा भारी वर्षा तथा मध्यतिर केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि साताको मध्यमा वर्षा थप सक्रिय हुने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
तराई क्षेत्रमा पनि साताभर वर्षा जारी रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा साताको सुरु र मध्यतिर भारी वर्षा तथा मध्यतिर केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ। मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साताको सुरुमा एक–दुई स्थान तथा मध्यतिर केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागले विशेषगरी साताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदी तथा खोलानाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र सहरी डुबान हुनसक्ने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


