
झापा, १ साउन । झापाको बिर्तामोडबाट ३१ ग्राम ५७० मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार साँझ करिब ५ः०० बजे बिर्तामोड नगरपालिका–५ स्थित देशाली होटलको कोठा नम्बर ४०४ मा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।
प्रहरीले होटलको कोठामा बसिरहेका भारतको पश्चिम बंगाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामपञ्चायत निवासी ३६ वर्षीय कमल बर्मनलाई पक्राउ गरेको हो । उनको साथबाट प्लास्टिकसहित ३३ ग्राम ५७० मिलिग्राम तौल भएको ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । प्लास्टिकको तौल हटाउँदा लागूऔषधको तौल ३१ ग्राम ५७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बर्मनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीबाट लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


