
झापा, २ साउन । दाइजोको विषयलाई लिएर एक महिलाको हत्या गरी करिब १८ वर्षदेखि फरार रहेका एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी ६० वर्षीय रामनाथ राय रहेका छन् ।
उनीमाथि २०६५ साल भदौ ३ गते बिहान करिब ९ बजे दाइजोको विवादका कारण २५ वर्षीया चन्द्रिकादेवी रायमाथि उनका श्रीमान् बौधा रायसहित तीन जनाले धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ ।
गम्भीर घाइते चन्द्रिकाको प्रारम्भिक उपचारका लागि भारतको बिहार राज्यस्थित पटना लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका रामनाथ रायलाई प्रहरीले खोजतलासका क्रममा उनकै गाउँबाट पक्राउ गरेको हो । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी जारी रहेको र पक्राउ परेका रायमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


