
जनकपुरधाम, २ साउन । दृष्टिबन्धकमा राखिएको जग्गा जग्गाधनीलाई जानकारी नै नदिई बैंकमा धितो राखेर करिब रु चार करोड ऋण लिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र ३२ वर्षीय छोरा हरेराम साह पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काका अनुसार गोपाल साहलाई जनकपुरधामस्थित एक होटलबाट, रेखा साहलाई नगराइन नगरपालिका–स्थित जटही सीमा नाकाबाट तथा हरेराम साहलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२ निवासी गोविन्दकुमार साहले व्यापार व्यवसायका लागि गोपाल साहसँग दृष्टिबन्धकमा जग्गा राखी कपाली तमसुकमार्फत रु ९९ लाख ऋण लिएका थिए। तर, दृष्टिबन्धकमा रहेको उक्त जग्गा वास्तविक जग्गाधनीलाई जानकारी नदिई गोपाल साहसहित तीनै जनाले बैंकमा धितो राखेर रु चार करोड ऋण लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले गोपाल साहको जनकपुरधामस्थित घरमा खानतलासी गर्दा ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता प्रमाणपत्र, एक थान ल्यापटप तथा विभिन्न छाप र नक्सा बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


