
झापा, ४ साउन । नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकन गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा लागू भइसकेको सन्दर्भमा अन्य सार्वजनिक बिदाको समीक्षा गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदललाई १५ दिनभित्र अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा बुझाउन निर्देशन दिइएको छ ।
बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम समय, लागत र गुणस्तर कायम गर्दै कार्यान्वयन गर्न तत्काल बजेट कार्यान्वयन तालिका तयार गरी सार्वजनिक खरिद प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
त्यसैगरी, जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि मन्त्रिपरिषद्ले स्वीकृत गरेको एकीकृत राहत प्याकेज शीघ्र कार्यान्वयन गर्ने निर्णयसहित बैठकले कुल २२ वटा निर्णय गरेको छ ।


