बाजुरा, ४ साउन । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य सात जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कोल्टी आधारभूत अस्पतालमा उपचाररत हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी करिब ४० वर्षीय अम्मर सिंह बुढाको उपचारकै क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सोमबार दिउँसो करिब १स्२५ बजे हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डको माथिल्लो मोडमा अनियन्त्रित भएको थियो। अनियन्त्रित जिप करिब १० मिटर तल रहेको अर्को मोडमा खस्दा दुर्घटना भएको थियो।
दुर्घटनामा कुल नौ जना घाइते भएका थिए। तीमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ भने बाँकी सात जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।



