
मोरङ, ६ साउन । मोरङको विराटनगरबाट प्रहरीले कटुवा पेस्तोल र लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर अन्तर्गतको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरस्थित एक घरमा खानतलासी गर्ने क्रममा ५९ वर्षीय लालकिशोर यादवलाई पक्राउ गरेको हो।
मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, तीन ग्राम सात मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र आठ ग्राम ४८ मिलिग्राम गाँजा बरामद गरिएको छ।
बरामद हतियार र लागुऔषधसहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए।


