
झापा, ८ साउन । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सम्पत्ति शुद्धीकरणसम्बन्धी सात वटा मुद्दा दायर गरेको छ।
विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक विवरणअनुसार ती मुद्दामा १२१ जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूमाथि करिब रु १ खर्ब १८ अर्ब ५ करोड बराबरको बिगो दाबी गरिएको विभागले जनाएको छ।
विभागका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्राप्त सूचनालाई स्क्रिनिङ समितिमा छलफल गरी प्रारम्भिक अनुसन्धान आवश्यक ठहरिएमा अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान प्रक्रिया अघि बढाइन्छ।
अनुसन्धान तथा अभियोजन कार्यलाई प्रभावकारी बनाउन विभागमा चार वटा अनुसन्धान शाखासहित कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा सञ्चालनमा रहेका छन्।
विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क तथा व्यापारसँग सम्बन्धित मनी लाउन्डरिङ तथा सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान गर्दै आएको जनाएको छ। पछिल्ला वर्षहरूमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्ययन, अनुसन्धान तथा तहकिकातलाई थप प्रभावकारी र तीव्र बनाइएको विभागको भनाइ छ।


