
झापा, ९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा ३३ हजार ३२८ नयाँ उजुरी दर्ता भएका छन्। अघिल्लो वर्षबाट सरेका सात हजार ३२३ उजुरीसमेत जोड्दा आयोगमा कुल ४० हजार ६५१ उजुरी रहेको थियो।
आयोगले शुक्रबार सार्वजनिक गरेको वार्षिक समीक्षा विवरणअनुसार तीमध्ये ३२ हजार ७९९ उजुरी (८०.६८ प्रतिशत) फर्छ्योट गरिएको छ भने बाँकी सात हजार ८५२ उजुरी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेका छन्।
प्राप्त उजुरीमध्ये ४८.९६ प्रतिशत स्थानीय तह, ३८ प्रतिशत संघीय सरकार र १३.०४ प्रतिशत प्रदेश सरकारसँग सम्बन्धित छन्। वेबसाइटमार्फत सबैभन्दा बढी ३०.९१ प्रतिशत उजुरी प्राप्त भएका छन्।
आर्थिक वर्ष २०८२/८३ मा आयोगले ६२ बैठकबाट एक हजार १३० निर्णय गर्दै विशेष अदालतमा १७५ वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ती मुद्दामा ९९० जनालाई प्रतिवादी बनाउँदै रु. २५ अर्ब ३१ करोड ३७ लाख ७३ हजार ५२४ रुपैयाँ ४० पैसा बिगो दाबी गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा चार गुणा बढी हो।
समीक्षा अवधिमा विशेष अदालतबाट फैसला भएका १५६ मुद्दामध्ये ८१ वटा (५१.९२ प्रतिशत) मा कसुर स्थापित भएको आयोगले जनाएको छ।
वार्षिक समीक्षा कार्यक्रममा प्रमुख आयुक्त प्रेमकुमार राईले उजुरी फर्छ्योटमा प्रगति भए पनि अनुसन्धानको गुणस्तर थप सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै दक्ष जनशक्ति र आधुनिक प्रविधिको उपयोगमा जोड दिएका छन्।


