
झापा, १० साउन । राजनीतिक स्थिरता, सुशासन, समृद्धि तथा प्रादेशिक विकासलाई गति दिने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति भएको छ।
सहमतिअनुसार दुवै दलले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्। सरकारको नेतृत्व कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले लिने सहमति भएको छ।
मधेस र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो।
तीनबुँदे सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्नुभएको छ।


