
झापा, १० साउन । अविरल वर्षासँगै आएको पहिरो, सडक कटान र सम्भावित बाढीका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड आज पनि प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै १० वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।
प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा लामो समयदेखि रातिको समयमा सवारी सञ्चालन बन्द गरिएको छ।
यसैगरी इलामको मेची राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामाबगर–रामेछाप सडक, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, मुस्ताङको जोमसोम–कोरला सडक, अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंघे सडक र रुकुम पश्चिमको भेरी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
त्यसैगरी बागलुङको कालीगण्डकी करिडोर, भोजपुर र खोटाङ हुँदै जाने मध्यपहाडी लोकमार्गमा बाढी तथा पहिरोका कारण एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षा अझै जारी रहेकाले बाढी र पहिरोको जोखिम कायम रहेको भन्दै यात्रु तथा सवारी चालकलाई यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।


