
व्यंग्यनारान पाँडे
कुलती मोराहरू सधैं त्यस्तै त हुन् नि !…
आज चाहिं कमरेड हरिराम बाजे र ऐंसेलु झाँगे बाटैदेखि एकले अर्काेको नाकमा औंला पु¥याउँदै, ठूल्ठूलो लर्बरे स्वरमा, ठोलाबाजी गर्दै आइरहेको पाँडेले बार्दलीबाटै देख्यो । यी दुई यस टोलका, उन्नाइस–बीस फरक भए पनि, दुबै आ–आफ्नै लयका अनौठा खलनायक त हुँदै हुन् ! तैपनि आजको एक्लो र निरस बसाइमा मनले कुनै बहलिने विषय खोजिरहेको थियो र यस्तै बकम्फुसे भनाबैरी सुन्न पनि मज्जै लागेको थियो पाँडेलाई !
ती दुई उत्ति मातेका त थिएनन्, तर नमातेका पनि थिएनन् । ती दुई यसबेला दैनिक नै इण्डिया–बिहारको गलगलिया, खोरीबारी, पीडब्लुडी मोड, अधिकारी, बतासी इत्यादि नामका बजारहरू धाउने गर्छन् भनेर तिनका छिमेकीहरू भन्थे ! फेरि सधैंजसो कहिले एक–एक वटा सिङ्गो माछा त कहिले एक–एक वटा छिप्पिएको सिङ्गो लौको, फर्सी वा मेवाहरू केही न केही लिएर आउँछन् भन्ने अनि साँझदेखि रातीसम्म उनेरकहाँ लागू पदार्थका दुव्र्यसनी (प्याचे ?)–हरू धुरिन्थे भन्ने पनि मुरी–मुरी सुनिएको थियो । अहिले पाँडेको गेटनेर आइपुगेपछि तिनले भनाबैरी झन् उग्र बनाएर एकार्काका पोल खोल्न थाले ।
हरिरामले टाउकोमा बाँधेको बिहारी ब्राण्ड रातो गाम्छा खोलेर कम्मरमा बाँध्दै भन्यो– “हिजो तिमीले माछामा ‘दशभरि’ चरेस माल ल्याइरथ्यौ, मैले म्यावामा ‘छभरि’ मात्तै ल्याइरथें र भा पनि हिजो रातीको छाक नस्ता–पानीको टोट्टल रुप्पे मैले नै तिरें । अैले बेहानको छाकमा पनि तिमीले मभन्दा डेढ गेलास ज्यास्ती खोये तानेका थ्यौ र रुप्पे मैले नै तिरें । एसरी म बाउन् चरीलाई जैले पनि सेकिन बनाउने गर्छाै । केको पर्तिसोद लिआ हो हँऽऽऽ ? एस्तो पर्तिसोद क’दिन लिन्छऊ ?”
ऐंसेलु झाँगेले दारा किट्तै भन्यो– “तो भीइढभ्लो मोडको बजाराँ खाजा खाइरँहा मलाई कटक्क लेटिन लागो र उक्त हुटेल पछाडिको थोत्रा टिनले घेरेको छानु पनि नभको खाल्डे पइखानमा म ट्वाइलेट्न गका ट्याममा तिमीले इस्सुसका मुन्टा र लुँडेको साक किनेर त्यसभित्र एउडा आर्काे म्यावा पनि सुटुक्क लुकाका थेउ कि थेनऊ ? लु भन ! तो म्यावामा ‘आटभरि’ माने आट गराम तो बाउन् सुघ्घर नामक प्याचे माल भराका थेऊ कि थेनऊ ? तेइ दोगानकै छेउमा टाँस्सेको पइखानमा म टेइलेट्तै थें, तेइ चानस पारेर तिमी सो–उक्त दोगानमा पुग्यौ र हतार–हतार साकहेरू किन्यौ र एउडा म्यावामा तो माल समेत अरू कागतमा पोक्याको धुलो माल लोठ गरा’र झोलाको पिँदमा राखेर ती साकहेरू माथ्याड हालेर तेल्लाई छोपेको तो थोत्रा पइखानको बारको चेपबड हेरिराखेको थें म ।…
…के ठान्छौ ? म तिमीभन्दा लङ्कै पुरानो कम्रेट, म लाटो छु भन्ठान्छौ ? मबड लुका’र ल्या’को सो–उक्त आट गराम बाउन् सुघ्घर र तो पोकोको समेत जोर्दा तिम्रो टोट्टल बीस–पच्चीस गराम ‘प्याचे माल’ हुँदैन ए बाउन् बाजे ? मभन्दा उत्ति धेर प्याचे माल ल्याम्ने तिम्ले सो–उक्त माल बेत्ता पनि, आदा रातमा अधमरो बिसुर भ’का प्याचे गाहाकलाई डब्बल मात्तै होइन, टेब्बल–चौबल नाफा गरेर ठग्या छौन ? लु भन ! मलाई था छैन भन्छौ ? अनि तो कैलु ब्यारीको भट्टी दोगानमा च्या–नस्ताको रुप्पे चइँ मैले तिर्नु ? म त एस एरिआको पर्तिस्टित बेक्ति पो हुँ त ! कस्ता–कस्तालाई खुट्टो मोलाउने म, हरामजादा देखा पर्छन् हओ मेरा सन्मुक, हैट !”
हरिरामले झाँगेको अनुहारमा एकछिन हेरेर विस्तारै भन्यो– “भइहालो नि त भइहालो ! हामेरू एउडै गुरुपका फ्रेनमा कैले कल्ले–कैले कल्ले तिरेका रुप्पेको नाथे कुरामा किन डिस्केश गरिरनु ? आज साँजको र भोलि बेहानको छाकमा जम्मै म तिर्छु लु – सत्ते, गाई खाने ल…। लेकिन, एसरी आर्काका घरका छेउमा उभ्भेर एस्तो झगडे बोलीमा एस्ता कुरा गर्दाउँदी हामेरको गोप्पेता लिख भ’र सर्खारको कुनै कट्टुभक्तले था पायो भने अथबा भद्रपुरभरिमा सर्खारी मान्छेहेरूले अरूभन्दा आच्छा पत्रकार गर्ण च्याम्पेन भन्र चिनेका ती तीन थान पत्रकारले था पाए भने र ठानामा ‘बिचउल्या’ गर्ण पुगे भने हामेरूसित ‘पर्तिसोद’ लिन प्ररी र ससस्रले चुर्खुराएर ज्ञाक्न बेरै लाउँदै’न् । तेता पनि क्यारलेस नगरी हुँदैन नि हामेरले !”
ऐंसेलु झाँगेले एकछिन सोचेजस्तो गरेर भन्यो– “तिम्रो कमेन पनि अन्करेक छैन । तर तिमी र म भेटिएसि एस्तै टपिकको डिस्केस नभ’र अरू–अन्ने के भओस् हामेरू जैसा पेसामा रात्दिनको औरार्त समरपृतहेरूको ? ल भइगो, अओलका अओल करेक्, ठ्यङ्कु भेरी–भेरी गुट् !”
अर्थात्, उनीहरू यस्तै पाङदुरे कुरा गर्दै पाँडेनेर आएर बस्नासाथ पाँडेले सोध्यो– ‘तिमेरले माछा, लौको, फर्सी, मेवा किनेका र भिëर्यांश फ्याँकेर तिनमा के भरेर ल्याउने गरेका कुरा गरेका हँऽऽऽ ? फेरि कसले कसलाई छलेको कुरो पनि गर्थेऊ ?’…
ती दुई तर्छेजस्तो भए र मुखामुख गरेपछि हरिरामले झाँगेतिर हेरेर किक्लिक–किक्लिक शब्द अडकाउँदै भन्यो– “लु खा त, बित्याँस परिग’छ नि ! इ पाँडेजीले रिट्ठो नबिराई सुनिहालेछन् ! अब कसरी ढाँट्नु हओ, कसरी ढाँट्नु अनि कसरी बँत्नु, उखुइऽऽऽ !”
ऐंसेलु झाँगेले हरिरामतिर एकपल्ट कुन्द्रे आँखा लायोे र चर्काे घोर्ले स्वरले झपार्दै– “के भगौडाको जैसो पानीमरुआ लोतीखरे कुरो बोल्छौ हओ हामेरका ‘बा’ मउसुप र राणाका छोरी–ज्वाइँ जैसो ? लाजै मर्दाे हँऽऽऽ ? कि तिम्रो पनि ज्यान्जीहर्ले सातो उडाइरछन् र बिरालोले म्याउँ गर्दा पनि छुल्छुल हुने रोगले चापिरछ ? एस्सो चइँ नग…” मात्र भन्दैथ्यो, हरिराम बम्किगो– “तिम्ले मेरा ढोग्नीए ‘बा’–को बिरोद किन बोल्या ? तिम्ले कल्लाई राणाका छोज्र्वाइँ भन्या ? यी गम्भीरे पाँडेका छेउमा आइपुगेसि कि उख्लेका तिमी ? फेरि भन त, लु त !… मुकसुक च्यातिदिन्छु अैले र पो अनित्याँड !”…
झाँगे के कम ? तुरुन्त जवाफ फर्कायो– “हन ती तिम्रा ‘बा’ पैला मेरा, धेरै पछि तिम्रा होइनन् ? भूतपूर्बक पर्दानमन्त्री शेर्बादुर देउपा र उनकी सिरमती आर्जु राणा चइँ निख्खुर सोसक ए’तन्त्रे राणाका ज्वाइँ–छोरी हुन् कि होइनन् ? नेपालको हिस्टोरीका लागि पैलो भगौडा शमेरा बा अनि देउपा बूढाबूढी हुन् भन्ने ताजा र पिउर एजाम्पल बनेका छन् कि छइ’न हओ हरिराम बाउन् बाजे ? तिमी नै बइन् देऊ त ! आफूले देशको भँडार चिथोरेर आफ्नु भँडार भर्णे गरेको अर्काले चाल पायो भन्ने सुइँको पाउनासात ती सुइझारल्यान, हन्कन, अमृका कतातिर हो भागेर दुला पस्या छन् कि छैइन् ?… सोइपरी हामेरले डग्सको बिख्नेस गर्छम् भन्ने इ पाँडेजीले पस्टै था पा’छन् भन्ने हामेरलाई मौसुप हुनासात हामेरू पनि उनै बा र देउपा–देउपी इस्टाएलमा भाग्ने कि मूखाबिल्ला गर्णे भन्ने पो मैले इन्टेल्याक्चुल तडिकाले सम्जाउन खोजेको त, झन् इनै पो, हाँडीमा मकै भुट्ता जैसै, पटटटट पड्किंदा रान् ।”
यसरी निकैबेर पड्केपछि हरिराम लुत्रुक्क भो भने झाँगेले कुर्सी खरररर पाँडेको अघिल्तिर तानेर हातले टी टेबल ड्याङ–ड्याङ ठोक्तै कराउन थाल्यो– “हो । हामेरू अैले अन्नेकउँ ट्यउटिस गरेर प्ररी, ससत्र, कन्सुत्ले, सिआइटे इत्तेदि कसैलाई ‘छन्छने तक्मा’ र कसैलाई ‘निस्तै चक्मा’ दिएर इज्जिलै डग्सको बिख्नेस गर्दैछौं, लु भयो त…? एतिका मैना कस्सैले केइ खुत्याउन सकेर हामेरूसित ‘पर्तिसोद’–को तातोपानी लाउन सकेको भा त हो र’च भन्नू ! तेसो भा इ पाँडेजीले था पाउँदा के चइँ नापिन्छ त हँऽऽऽ ? अज्ज मैले आन्द्राभुँडी फ्ल्यात–फ्लित खोलें भने नि केइ नापिने त के हामेरको नली खुट्टाको एउडो भुत्लो नि झार्दैन कुनै मूलाले । सुन्नु हुन्छौ भने सुन हओ पाँडेजी, सिरेसली भ’र अज्ज कानभरि निम्ठै सुन लु–––
…अन्तखेरि, हामेरू एस काममा लागेका टोट्टल नै आ–आफ्नै ट्याम–टेबुल फिस् गरेर डेल्लीका डेल्ली इण्डे बेहार र बङगालका गलगले, अदिकारी, भाल्लुगडा, खोरबारी, बतासी, पानीटएङ्की अथैबा बोडरिआ इण्डेन मार्टेक र बजार–हटियाहेरूमा जान्छम् । अन्नित्याँड सर्वपैला, एक किलो साइचको माछो खोज्छम् र भुँडी मात्तै चिरा’र आन्द्राहेरू फेंक्न लाम्छम् । माछो नपाइए छिप्पट लौको, छिप्पट फर्सी, पाकेको म्यावा जैसा फालफुल जिनिस किन्छम् अनिखेर तेसको बोडीमा स्यानो चोट पारेर तेसको भिëर्याम्स झिक्न लाम्छम् र डाइरेक्ली डग्स–साउकाँ जान्छम् । कुन कोलिटिको कति डग्स माछाको याम्टी भूँडीमा हाल्ने अथबा सब्जीमा लोठ गर्णे अड्डर गर्छम् । तेइ साउका कारिन्दा–कारिन्दानीहरले कालो पलास्टीमा डब्बल–टेब्बल गरेर इस्टङ न इस्टङ पोको पारेर माछो भए तेसको खाली भुँडीमा र लौकोहेरू भए तिन्का खाली बोडीमा लोठ गर्छन् अनि ती जिनिसका चोट गमले टालेर नकाटेका ठामभन्दा ट्यान्छ्यान बना’र तुरन्ताको तु. दिन्छन् । अनि माछो आर्रामसँग हातमा तुन्द्रुङ्ग हल्लाउँदै र लौकोहेरू भए ओप्पिन हातैमा बोकेर चइँनेकेरे प्ररी–ससत्रका मान्छेकै मुखिन्जी मेची पुलमाथिबडै भन्सारको करेंसै–करेंसा लेराम्छम् र ‘प्याचे’–हर्लाई रिट्टेलमा बेचेर नाफा कमाउँछम् क्या ! र, खोइ अैलेसम्म कस्सैले पक्डिनु त के, छुन पनि त के, सङ्खा गर्नसम्मन् सकेका छइन् केरे । र, एस्तो टु–थिरी हन्डेड पर्सेन ग्याम्म नाफा हुने र दुर्भेसनी कित्ताका बिचारा भोका नाग्रिकहरको सेवा गर्ण त बुद्दि चाइँछ क्या पाँडेजी, ब्रेनको किड्नी–लिबरहेरू बल्यो चाइँछ क्या ! ट्याउटिस खेल्न जान्नु पनि पर्छ क्या !”…
वाक्क भएको पाँडेले आफ्नो पेटमा चिमट्यो…ऊ ब्यूँझै रहेर तिनका कुरा सुनिरहेको र’छ र रिंगटा लागेको टाउको समाएर भन्यो– ‘मलाई आज अलिक सञ्च छैन, अब तिमेरू जाओ । फेरि भेट्ता बाँकी कुरो सुनौंला नि आरामसित !’
र, उनेरू लोते–लाते हुँदै चूपचाप, पाँडेतिर शंकाका तीता–तेर्सा आँखाले हेर्दै, लखर–लखर बाटो लागेपछि मेरो मुखबाट निस्केछ– ‘हरिॐ तत्सत्’ !


