
झापा, १३ साउन । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा पर्व श्रद्धा र सम्मानका साथ मनाइँदैछ। ज्ञान, शिक्षा र दीक्षा प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्दै विभिन्न विद्यालय, गुरुकुल तथा संघ–संस्थाले विशेष कार्यक्रम आयोजना गरेका छन्।
धार्मिक ग्रन्थअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको उज्यालो फैलाउने व्यक्तिलाई गुरु भनिन्छ। हिन्दू शास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानिएको छ। त्यसैले शास्त्रमा ‘गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः’ भन्ने श्लोकमार्फत गुरुको महिमा वर्णन गरिएको छ।
गुरुलाई माता–पितासरह सम्मान दिँदै ‘आचार्यदेवो भव’ भन्ने मान्यता पनि प्रचलित छ। यस अवसरमा विद्यार्थी तथा शिष्यहरूले आफ्ना गुरुजनप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको छ।
यसै दिन वेदलाई चार भागमा विभाजन गर्ने तथा १८ पुराण, १८ उपपुराण र महाभारतका रचयिता महर्षि वेदव्यासको जन्मजयन्ती अर्थात् व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यासको जन्म भएको विश्वासका आधारमा यो पर्व मनाउने परम्परा रहिआएको हो।
महर्षि व्यासले पुराणमार्फत ‘अरूको उपकार गर्नु नै पुण्य हो र अरूलाई दुःख दिनु पाप हो’ भन्ने मानवतावादी सन्देश दिएको धार्मिक विश्वास छ।
गुरु पूर्णिमाका अवसरमा आज देशभरका गुरुकुल, शिक्षालय तथा धार्मिक संस्थामा विशेष पूजा, सम्मान कार्यक्रम र प्रवचन आयोजना गरिएका छन्। यसैक्रममा नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौंको चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गुरु पूर्णिमाको महत्वबारे चर्चा गरिने फाउन्डेसनका अध्यक्ष तथा पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले जानकारी दिएका छन्।


