
झापा, १३ साउन । झापाको भद्रपुरमा कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
बुधबार बिहान करिब ११ बजे भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकमा कारको ठक्करबाट ९२ वर्षीया धनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्कँदै गरेकी भद्रपुर–९ निवासी खड्कालाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई कार चालकले तत्काल ओमसाई पाथिभरा अस्पताल पुर्याएका थिए। उपचारका क्रममा बिहान ११:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कार र चालक बुद्धशान्ति गाउँपालिका–२ निवासी ४६ वर्षीय मदन प्रसाईलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


