
झापा, १३ साउन । झापाको भद्रपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
बुधबार बिहान भद्रपुर नगरपालिका–४ स्थित एग्रो कार्यालय नजिक मायालु वन क्षेत्रमा करेन्ट लागेर स्थानीय ६५ वर्षीया सन ज्योति लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लिम्बुले आफ्नै बारीमा हाती धपाउनका लागि लगाएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर उनी ढलेकी थिइन् । उनलाई लडिरहेको अवस्थामा उनकी बुहारी सविता खड्काले देखेपछि बिहान करिब ११ बजे प्रहरी चौकी महेशपुरलाई जानकारी गराएकी थिइन् ।
सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक विशाल श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोली पुग्दा लिम्बुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
प्रहरीले शवलाई घरमा सुरक्षित राखेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


