
बिर्तामोड, १३ साउन । बिर्तामोड नगरपालिकाले ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई सचेतनामूलक पोस्टर वितरण गर्दै विद्यालय केन्द्रित अभियानलाई तीव्र बनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको सहकार्य तथा बिर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई पोस्टर हस्तान्तरण गर्नुभयो। त्यसपछि ती पोस्टर विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रसाईले लागुऔषधमुक्त समाज निर्माणका लागि जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सामाजिक संघसंस्थाबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले जिल्लाका १५ वटै स्थानीय तहले यस्ता अभियानलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उल्लेख गर्दै लागुऔषध नियन्त्रणमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो।
प्रहरी उपरीक्षक खड्काले जिल्लाभर लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि सचेतनामूलक र नियन्त्रणात्मक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै हालसम्म ७१ वटा प्रहरी युनिटका फोकल पर्सनलाई तालिम दिइसकिएको बताउनुभयो। अब शिक्षकहरूका लागि विशेष तालिम सञ्चालन गरिने, युवालाई लक्षित गरी फुटबल प्रतियोगितामार्फत पनि अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार शिक्षकहरूलाई लागुऔषध दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगका विषयमा प्रशिक्षण प्रदान गरिनेछ। साथै, जिल्ला प्रहरी कार्यालय झापाले गत असार १ देखि ११ गतेसम्म सञ्चालन गरेको ‘स्विप अपरेसन’ अन्तर्गत ६ सयभन्दा बढी लागुऔषध दुर्व्यसनीलाई नियन्त्रणमा लिइएको पनि उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले विद्यार्थीलाई सही मार्गमा डोर्याउने महत्वपूर्ण जिम्मेवारी शिक्षकको भएकाले विद्यालयलाई अभियानको केन्द्र बनाइएको बताउनुभयो। शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले पनि लागुऔषधविरुद्धको अभियानमा सबै क्षेत्रबाट सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।
प्रहरीका अनुसार हाल झापामा थुनामा रहेका ९३ जनामध्ये करिब ८० प्रतिशत लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्त रहेका छन्। आर्थिक अपराधपछि जिल्लामा सबैभन्दा धेरै दर्ता हुने मुद्दा पनि लागुऔषधसम्बन्धी नै रहेको जनाइएको छ। प्रहरीको निष्कर्षअनुसार झापाका सबै स्थानीय तह लागुऔषधको जोखिममा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले अभियानअन्तर्गत अर्जुनधारा, शिवसताक्षी र बिर्तामोड नगरपालिकामा कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष पाठक, बिर्तामोड नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने असरसम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।


