
झापा, १४ साउन । झापाको बिर्तामोड नगरपालिका–५ पुरानो भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीनवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीन घरमा आंशिक क्षति पुगेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिहान करिब ४ः१५ बजे गणेश पोखरेलको काठको दुईतले घरबाट आगलागी सुरु भएको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक लोकबहादुर दियालीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । शनिश्चरे बेस क्याम्पबाट समेत सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।
बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बिहान ५ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा आगलागी विद्युत् सर्टका कारण भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
आगलागीबाट गणेश पोखरेलको काठको दुईतले घर, तारा आर्यालको टिनको छानो भएको एकतले घर तथा सुन्दर राजवंशीको एकतले घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । यस्तै, भरत पोखरेलको घरमा आंशिक क्षति पुगेको छ भने शारदा राजवंशीको दुईतले पक्की घर र दीपेन्द्रकुमार वलीको घरको दोस्रो तलाको झ्यालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको आर्थिक क्षतिको विवरण भने अझै खुल्न बाँकी रहेको छ ।


