
झापा, १४ साउन । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। बुधबार बसेको सञ्चालक समिति बैठकले १५ दिनभित्र नयाँ महसुल प्रस्ताव तयार गर्ने जिम्मेवारीसहित समिति गठन गरेको हो।
सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिले हालको महसुल संरचनाको समीक्षा गर्दै गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत र उत्पादनमूलक उद्योगलाई सहज दरमा विद्युत् उपलब्ध गराउने विषयमा सुझाव दिनेछ। समितिको प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत् नियमन आयोगसमक्ष प्रस्ताव पठाइने प्राधिकरणले जनाएको छ।
यस्तै, बैठकले विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा उजुरीहरूको अध्ययन गर्न सञ्चालक समिति सदस्य शम्भु केसीको संयोजकत्वमा अर्को छानबिन समिति पनि गठन गरेको छ। उक्त समितिलाई दुई महिनाभित्र सुधारका सुझावसहित प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।


