
बिर्तामोड, १७ साउन । नेपाल अडिटर्स एशोसिएसन झापा (अडान) को २१औँ स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरूले अडिट पेशाको बदलिँदो भूमिका, व्यवसायिक नैतिकता, विश्वसनीयता र गुणस्तरीय सेवाको आवश्यकतामा जोड दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल अडिटर्स एशोसिएसनका केन्द्रीय उपाध्यक्ष बलराम चौधरीले अडिट व्यवसाय परम्परागत सीमाभन्दा धेरै अघि बढिसकेको बताए। उनले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई पेशाको वर्तमान अवस्था समीक्षा गर्दै आगामी दिशानिर्देशन तय गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे।
उनले दर्तावाला लेखापरीक्षकको जिम्मेवारी वित्तीय विवरण परीक्षण गरी प्रतिवेदन तयार गर्नेमात्र नभई व्यवसायी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सरकार र आमसमाजलाई आर्थिक निर्णय लिन आधार प्रदान गर्ने महत्वपूर्ण भूमिका भएको उल्लेख गरे।
“हाम्रो प्रतिवेदनप्रति धेरै पक्षको विश्वास जोडिएको हुन्छ,” उनले भने, “त्यसैले इमानदारी, स्वतन्त्रता, निष्पक्षता र गुणस्तरलाई पेशाको मुख्य आधार बनाउन आवश्यक छ।”

कार्यक्रममा अडान कोशी प्रदेश अध्यक्ष फणिन्द्र पराजुलीले अडिट पेशाको सबैभन्दा ठूलो सम्पत्ति भौतिक संरचना नभई विश्वसनीयता रहेको बताए। उनले पेशागत दक्षता अभिवृद्धिका लागि निरन्तर तालिम, अभिमुखीकरण र व्यवसायिक आचरण आवश्यक रहेको उल्लेख गरे।
“हाम्रो सबैभन्दा ठूलो सम्पत्ति ग्राहक मात्र होइन, उनीहरूको विश्वास हो,” उनले भने, “त्यसलाई कायम राख्न गुणस्तरीय सेवा र नैतिक आचरण अपरिहार्य छ।”
अडान झापाका अध्यक्ष पर्शुराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका दर्तावाला लेखापरीक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा अडानका केन्द्रीय सचिव जयधर्म पोखरेल, केन्द्रीय सदस्यहरू होमनाथ उप्रेती, माधव घिमिरे, खडानन्द गुरागाई, कोशी प्रदेशका दिलबहादुर पौडेल, भलाकाजी कठेत तथा पूर्व जिल्ला अध्यक्ष चूडामणि चिमरियालगायतले अडिट व्यवसायमा देखिएका चुनौती, अवसर र क्षमता विकासका विषयमा धारणा राखेका थिए।
सहभागीहरूले नियामकीय व्यवस्थामा भइरहेको परिवर्तन, डिजिटल वित्तीय प्रणालीको विस्तार र बढ्दो व्यवसायिक उत्तरदायित्वका कारण अडिट पेशामा निरन्तर अध्ययन, अद्यावधिक ज्ञान र सीप विकास अपरिहार्य बन्दै गएको निष्कर्ष निकाले।
कार्यक्रमको सञ्चालन अडान झापाका सचिव खिवलाल अधिकारीले गरेका थिए। स्थापना दिवसका अवसरमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षणले अडिट व्यवसायलाई थप उत्तरदायी, विश्वसनीय र गुणस्तरीय बनाउने प्रतिबद्धतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।


